थवाङ १ मा वडा अध्यक्षका लागि ३ जनाको उम्मेद्वारी

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका  १, ठूलोगाउँमा हुने वडा अध्यक्षको उपनिर्वाचनका लागि ३ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । यहि मंसिर १४ मा हुने उपचुनावका लागि नेपाल कम्युनिष्ट पार्टीबाट जनकबहादुर बुढा, नेपाली कांग्रेसबाट कलम बहादुर रोका र स्वतन्त्रबाट भद्रकुमार झाँक्रीले उमेद्वारी दिनुभएको हो ।
 रोल्पाको थबाङ गाउँपालिका–१ का वडा सदस्य झाँक्रीले मंगलबार गाउँपालिका अध्यक्ष समक्ष पदबाट राजीनामा दिएर बुधबार वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनुभएको हो । २०७४ को स्थानीय तहको चुनावमा स्वतन्त्रबाट वडा सदस्यमा विजयी झाँक्रीले पुनः स्वतन्त्रबाटै उम्मेदवारी दर्ता गराउनुभएको हो । मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीका अनुसार त्यस लगत्तै नेकपाका तर्फबाट जनकबहादुर बुढामगर र नेपाली कांग्रेसका कलम रोकाले पनि मनोनयन दर्ता गराउनुभएको छ । 
वडा अध्यक्ष फर्कबहादुर बुढाको मस्तिष्कघातले असार ६ गते निधन भएपछि झाँक्री कार्यबहाहक अध्यक्ष हुनुहुन्थ्यो । स्वतन्त्र उमेदवार झाँक्रीले भन्नुभयो¸ ‘स्वतन्त्रबाट विजयी तीन सदस्यको सल्लाह अनुसार सदस्यबाट राजीनामा दिएर वडा अध्यक्षमा उम्मेदवारी दिएको हुँ’ ।  

सदस्यबाट राजीनामा दिई अध्यक्षको उम्मेद्वार बन्नुभएका झाँक्रीलाई निर्विरोध निर्वाचित गराउने विषयमा सहमतिको प्रयास समेत भएको छ । बुधबार बिहान नेकपा, नेपाली कांग्रेसका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारका आकांक्षी झाँक्रीबीच छलफल भएको थियो । सहमतिको टुंगो नलागेपछि तीन जनाको उम्मेदवारी परेको हो। 
नेपाली कांग्रेससँग गठबन्धन गरी चुनावमा भाग लिएका बेला १ नम्बर वडामा स्वतन्त्र प्यानल नै विजयी भएको थियो। ५ वडा रहेको थबाङ गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र चार वडामा तत्कालीन माओवादी केन्द्र प्यानल नै विजयी भएको थियो। 
२०७४ को स्थानीय तहको चुनावमा स्वतन्त्रबाट झाँक्री ३ सय ५८ मतसहित विजयी हुनुभएको थियो । पूर्व नेकपा माओवादी केन्द्रका चयन पुनमगर दुई सय ५६ मतसहित पराजित हुनुभएको थियो । 
वडा नं १ मा महिला ६ सय ९१ र पुरुष ५ सय ८३ गरी कूल १ हजार २ सय ७४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।
कार्तिक ३० गतेसम्म उमेदवारी फिर्ता लिने समय भएकाले सहमतिका लागि प्रयास जारी राख्ने सत्तापक्ष नेकपाको तयारी छ । 


 

प्रतिकृया दिनुहोस