रोल्पामा दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, एक सय तीन जनाको आँखाको शल्यक्रिया

केन्द्रका अनुसार शल्यक्रिया गरिएका मध्ये ९९ जना मोतिबिन्दुका बिरामी छन्

रोल्पा - रोल्पामा दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ। नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वय तथा द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोगमा भदौ २७ र २८ गते उक्त शिविर सञ्चालन गरिएको हो। तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको नयाँ भवनमा सम्पन्न शिविरमा कुल १०३ जनाको आँखाको शल्यक्रिया गरिएको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार शल्यक्रिया गरिएका मध्ये ९९ जना मोतिबिन्दुका बिरामी छन्। जसमध्ये ८० जनाको अत्याधुनिक फेको प्रविधिबाट र १९ जनाको एसआइसीएस प्रविधिबाट शल्यक्रिया गरिएको छ। यस्तै ३ जनाको आँखाको मासु पलाएको र १ जनाको आँखाको ढकनीको शल्यक्रिया गरिएको छ।
शल्यक्रिया गरिएका मध्ये ६५ जना महिला र ३८ जना पुरुष रहेका छन्। केन्द्रले शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण निकाय र व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गरेको छ।

प्रतिकृया दिनुहोस