थबाङको पर्यटन विकासका लागि सातबुँदे प्रस्ताव पारित

पर्यटन विकासबाट स्थानीय स्तरमा रोजगारी सिर्जना भई युवा पलायन रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका वडा नं. ३, ४ र ५ को संयुक्त आयोजनामा पर्यटन प्रवर्द्धनका लागि अन्तरवडा स्तरीय बैठक सम्पन्न भएको हो। जन्तरे–जलाकी सेरोफेरो बाङखर्कमा सम्पन्न बैठकले थबाङका ओझेलमा परेका पर्यटकीय क्षेत्रको पहिचान र प्रचारप्रसार गर्ने निर्णय गरेको छ ।

बैठकले पर्यटन विकासका लागि तीनै तहका सरकारसँग समन्वय गरी योजना माग गर्ने र वडा नं. ४ मा रहेको गुराँस क्षेत्रलाई पदयात्रा गन्तव्यका रूपमा विकास गर्न लुम्बिनी प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेको वडा नं. ४ का अध्यक्ष हिक्मत घर्तीमगरले जानकारी दिनुभयो ।

पर्यटन विकासबाट स्थानीय स्तरमा रोजगारी सिर्जना भई युवा पलायन रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । बैठकले यस सम्बन्धमा सातबुँदे प्रस्ताव पारित गरेको छ ।

यसैगरी, बैठकमा वडा नं. ३ का अध्यक्ष जनक बुढामगरको नेतृत्वमा विभिन्न सङ्घसंस्थाबाट सङ्कलित ७० हजार चार सय ३५ रुपैयाँ कोटलबारा पहिरो पीडित परिवारलाई सहयोगस्वरूप हस्तान्तरण गरिएको थियो । उक्त रकम वडा नं. ५ का कार्यवाहक अध्यक्ष बुद्धिबहादुरलाई हस्तान्तरण गरिएको हो ।

प्रतिकृया दिनुहोस