रोल्पा पोखरा सम्पर्क समाजद्वारा बाढी प्रभावितलाई ३ लाख १२ हजार राहत वितरण
बाढी पीडित परिवारको अवस्था अत्यन्तै दयनीय
रेडियो रोल्पा, भदौ १७ - यस वर्षको अविरल वर्षापछि आएको बाढीबाट प्रभावित रोल्पाका विभिन्न गाउँपालिकामा पुगेर रोल्पा पोखरा सम्पर्क समाजले पीडित परिवारलाई राहत रकम वितरण गरेको छ ।
समाजका सल्लाहकार रामप्रसाद रोकाका अनुसार जिल्लाका तीन वटा गाउँपालिकाका जम्मा २७ जना बाढी प्रभावितलाई राहत उपलब्ध गराइएको हो । उनका अनुसार सुनछहरी गाउँपालिका–२ भित्रीगामका ४ जना, सोही गाउँपालिका–१ सेरमका २ जना मृतक र १ जना घाइते, लुङ्ग्री गाउँपालिकाका २ जना र थबाङ गाउँपालिका–५ कोटलबाराका १३ जना मृतक, २ जना घाइते तथा भौतिक संरचनामा क्षति भएका ३ जनालाई राहत रकम प्रदान गरिएको हो ।
राहत वितरण कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गरिएको सल्लाहकार रोकाले बताउनुभयो । भदौ १२ गते सुनछहरी गाउँपालिका–१ सेरम, भदौ १३ गते सुनछहरी गाउँपालिका फलबाङ र भदौ १४ गते लुङ्ग्री गाउँपालिकाका बाढी पीडितलाई राहत हस्तान्तरण गरिएको थियो । त्यसैगरी भदौ १५ गते थबाङ गाउँपालिका–५ कोटलबारामा पुगेर प्रभावित परिवारलाई राहत रकम बुझाइएको उहाँको भनाइ छ ।
राहत रकम हस्तान्तरण गर्दै सल्लाहकार रोकाले यस मानवीय अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण दाताहरुप्रति आभार व्यक्त गर्नुभयो । अभियानमा विशेष सहयोग गर्ने शान्त तमु समाज गैरिखोर–१९ लामाचौर पोखराका अध्यक्ष सुबेदार इन्द्रसिङ गुरुङ, अभियानका पहलकर्ता ठेकेदार रेशम बुढा र लायन्स क्लब अफ पोखरा राइजिङ स्टार पोखराका अध्यक्ष लाल बहादुर के.सी. लगायतको योगदान स्मरणीय रहेको उहाँले उल्लेख गर्नुभयो ।
जिल्लाका विभिन्न क्षेत्रमा बाढीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सल्लाहकार रोकाले समाजको तर्फबाट तीनवटा गाउँपालिकाका बाढी प्रभावितलाई जम्मा ३ लाख १२ हजार ५ सय रुपैयाँ वितरण गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार घरबास गुमाएका, आफन्त गुमाएका र घाइते भएका परिवारको अवस्था अत्यन्तै दयनीय र चिन्ताजनक छ । तत्काल राहतपछि अब दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनाको आवश्यकता रहेको भन्दै सरकारले बाढी प्रभावित क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बाढीले रोल्पाका दुर्गम बस्तीहरुमा पुर्याएको क्षति ठूलो रहेको भन्दै स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरेर पीडितको स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने माग पनि सल्लाहकार रोकाले गर्नुभयो ।







प्रतिकृया दिनुहोस