अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु, पाँच जना विद्यार्थी घाइते
रोल्पा, भदौ ६ । रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–७ स्थित तिलाको जंगलमा अरिङ्गालले टोकेर एक बालकको मृत्यु भएको छ भने पाँच जना बालबालिका घाइते भएका छन् । श्री विरेन्द्र माध्यमिक विद्यालयबाट सोमबार भदौ ५ गते विद्यालय छुट्टीपछि घर फर्किरहेका बालबालिका जंगलको बाटो हुँदै जाँदै गर्दा साँझ करिब ४ः३० बजे अरिङ्गालले आक्रमण गरेको थियो । घटनामा परी घाइते भएका सात वर्षीय मोहन परियारको भाद्र ५ गते राति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृतक परियार त्रिवेणी गाउँपालिका–७, धाक्रीपानीका भाइरती परियारका छोरा हुन् ।
अन्य पाँच जना बालबालिका घाइते भएका छन्। उनीहरूमा १४ वर्षीया सुनिता परियार, १० वर्षीय शंकर परियार, १० वर्षीया मनिषा परियार, ८ वर्षीय कमल परियार र ४ वर्षीय आशिष परियार रहेका छन् । सुरुमा सबै घाइतेलाई साँझ ९ बजे रोल्पा अस्पताल, रेउघा ल्याइएको थियो भने अवस्था गम्भीर नभएका पाँच जनालाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी रोहितकुमार शाहीले जानकारी दिनुभयो। स्थानीयवासीका अनुसार घटनास्थल आसपासको जंगल क्षेत्रमा अरिङ्गालको सक्रियता पहिलेदेखि नै रहेको थियो । सुरक्षाका दृष्टिले सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै स्थानीय प्रशासनले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।





प्रतिकृया दिनुहोस