बल्झिरहने दोन्दको घाउ
बल्झिरहने दोन्दको घाउ
तिलक घर्तीमगर
रोल्पा,भदौ १५ गते । रोल्पा—जहाँ कुनै समय परिवर्तनको गीत गुञ्जन्थ्यो, आज पनि त्यहाँ शून्यतालाई पर्खाइले घेरेको छ । जनयुद्धको घनघोर धुवाँ फुक्ने यो भूमिमा अहिले पनि ती अनुहारहरू खोजिँदै छन, जो दोन्दका दिनमा घरबाट निस्किए, तर कहिल्यै फर्किएनन । हिजो अन्तर्राष्ट्रिय बेपत्ता दिवस फेरि आयो । अनि फेरि उही चिर्न नसकिने प्रश्नहरू—हाम्रा आफन्तहरू खोइरु सास हो भने देखियोस, लास हो भने बुझियोस । अब यो बिचको मौनता थेग्न सकिने अवस्था छैन ।
दिवस मनाइन्छ, भाषण गरिन्छ, ब्यानरहरू टाँसिन्छन । तर ती आमाका आँखा अझै उही ढोका ताकिरहेका छन, जहाँबाट छोराले “छिट्टै फर्कन्छु” भनेका थिए । ती श्रीमतीका सपना अझै अधुरै छन, जसको श्रीमान अन्तिम पटक खेत जोत्न हिँडेका थिए ।
रोल्पा नगरपालिका–६ को कोटगाउँमा विष्णु परियार अझै ससुराको पर्खाइमा छन । त्यो पर्खाइ अब उमेरको चाउरी र आँखाको ओइलीएको दृष्टिमा बदलिएको छ । रोल्पा नगरपालिका–१० धवाङकी तुलकुमारी विष्ट भन्छिन्, शान्ति स्थापना भएको वर्षौं भयो श्रीमानको खबर छैन । उनी भन्छिन, “दुःख भयो भने पनि कसैलाई भन्न सकिन्न, साथी भए जस्तो लाग्ने मान्छे पनि हराइसके ।”रोल्पा नपा–८ जङ्कोटका दलराज सुनार अझै छोराको बाटो ताकिरहेका छन । उनले भने, “अब त पर्खन पनि डर लाग्छ, सपना देख्दा झस्किन्छु ।” कुनै पक्षले छोरालाई यो ठाउँमा मारिम भनेर स्वइकार गरेपनि ढुक्क भइन्थ्यो ।
परिवर्तन गाउँपालिका, राङकोटकी दिलमाया बुढाको कथा पनि उस्तै छ । देवर बेपत्ता भएका छन, उनी भन्छिन, “परिवारै छिन्नभिन्न भयो । हामीजस्ता गरिबका लागि त सास पनि भारी हुन्छ कहिलेकाहीँ ।” रोल्पा नगरपालिका–८ जंकोटका तेजकुमारी बुढामगरको कथा अझ हृदयविदारक छ । उनी भन्छिन, “एउटै भएको भाइ बेपत्ता भएदेखि घरपनि ढल्यो । मेरो माइत जाने बाटो पनि बन्द भयो ।” चाडपर्वमा गाउँका दिदिबहिनीहरु माइत जान्छन् म घरमा एक्लै बसेर भाइ सम्झेर रुन्छु । यि पात्रहरु केवल प्रतिनिधि मात्र हुँन थुप्रै बेपत्ता परिवारहरु अझै पनि आफन्तको पर्खाइमा बसिरहेका छन् ।
फोटो क्यप्सनःबेपत्ता परिवारहरुसंग कुराकानी गर्दै





प्रतिकृया दिनुहोस