गाउँपरिवर्तन युवा क्लबको दोस्रो वार्षिकोत्सव जारी: ७० टिमबीच रोमाञ्चक भिडन्त चल्दै
गाउँपरिवर्तन युवा क्लबको दोस्रो वार्षिकोत्सव जारी: ७० टिमबीच रोमाञ्चक भिडन्त चल्दै
रोल्पा, कार्तिक १५ – सुनछहरी गाउँपालिका–३ बाहिरीगाम पाङबाङस्थित गाउँपरिवर्तन युवा क्लबद्वारा आयोजना गरिएको दोस्रो वार्षिकोत्सव, खेलकुद तथा सांस्कृतिक महोत्सव उत्साहपूर्ण वातावरणमा जारी छ।
कार्तिक ९ गतेदेखि सुरु भएको सो कार्यक्रम सातौँ दिनसम्म आइपुग्दा पनि खेलाडी, कलाकार तथा स्थानीय बासिन्दाको सहभागिता र उत्साह निरन्तर बढ्दै गएको क्लबकी अध्यक्ष रमिला बुढामगरले जानकारी दिनुभयो।
वार्षिकोत्सवको अवसरमा सञ्चालन भइरहेको खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलतर्फ ७० टिमबीच प्रतिस्पर्धा भइरहेको छ भने महिला भलिबलतर्फ पनि उल्लेख्य सहभागिता रहेको आयोजक समितिले जनाएको छ। महिला तर्फ १८ टिमले नाम दर्ता गरेका छन् ।
खेलकुदसँगै विविध सांस्कृतिक प्रस्तुतीहरू समेत सञ्चालन भइरहेका छन्। लोकदोहोरी, सामूहिक तथा एकल नृत्य, झाँकी प्रदर्शन र घैटा फोड प्रतियोगिता जस्ता कार्यक्रमहरूले महोत्सवमा थप रौनकता ल्याएका छन्।
वार्षिकोत्सवको उद्घाटन कार्तिक ९ गते नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा संविधानसभा सदस्य गोकुलप्रसाद घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
क्लबका अनुसार सो कार्यक्रमले स्थानीय युवामा खेल तथा संस्कृति प्रतिको रुचि अभिवृद्धि गर्नुका साथै आपसी एकता र सामाजिक सौहार्द सुदृढ पार्ने उद्देश्य लिएको छ।





प्रतिकृया दिनुहोस