रोल्पाको थबाङमा पहिरो : मृत्यु हुनेको संख्या १० पुग्यो, ३ जना अझै बेपत्ता

रोल्पाको थबाङमा पहिरो : मृत्यु हुनेको संख्या १० पुग्यो, ३ जना अझै बेपत्ता

रोल्पा, साउन २८ गते । 
रेडियो रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा बुधबार राति  अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पहिरोमा परी १० जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।

मृत्यु हुनेमा थबाङ–५ कै १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्।

त्यस्तै रोल्पाको सुलिचौर नजिक लाम्पा खोला र प्युठानको माडी नदीको विभिन्न स्थानमा थप ५ जनाको शव फेला परेको थियो। फेला परेकामध्ये ३८ वर्षीया जुनकुमारी पुन, ९ वर्षीय अशिम पुन र ५ वर्षीय अशोक पुनको मात्र पहिचान खुलेको छ। बाँकी २ जनाको पहिचान हुन सकेको छैन।

घटनामा ३ जना अझै बेपत्ता रहेका छन्। गम्भीर घाइते भएका थबाङ–५ का २ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

पहिरोले ९ वटा घर, १ घुम्ती पसल, २ वटा गोठ र १ वटा चर्च गरी १३ वटा संरचना पुरिएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय उवाबाट खटिएको टोली र स्थानीयले रातिदेखि नै उद्धार सुरु गरेका थिए। उद्धारका लागि प्रमुख जिल्ला अधिकारी क्षेत्री, प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखु, नेपाली सेनाका कर्णेल दिपेश खड्का, सशस्त्र प्रहरीका डीएसपी कालीप्रसाद चौधरीसहितको टोली घटनास्थल पुगेको थियो। 

बिहीबार दिउँसो लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्रबहादुर खत्रीसहित स्वास्थ्यकर्मीको टोली पनि घटनास्थल पुगेको छ। प्रजिअ क्षेत्रीका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।

प्रतिकृया दिनुहोस