फुसको छानो हटाउन करिब चार सय सहीद परिवारलाई जस्तापाता वितरण
बैसाख ६, रोल्पा । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका तथा बेपत्ताका परिवारमध्ये पहिलो चरणमा रोल्पामा ३ सय ६९ घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ ।
विहिबार लिबाङमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा भएको जस्तापाता वितरण कार्यक्रममा सांकेतिक रुपमा जस्ता पाता र जस्तापाता प्राप्त गर्न प्रमाण पत्र वितरण गरिएको हो । प्रमाण पत्र प्राप्त घर परिवारले पायक पर्ने स्थानबाट जस्तापाता लिन सकिने बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पुनले राज्य वा विद्रोही जुनसुकै पक्षबाट ज्यान गुमाएका वा वेपत्ता पारिएका भए पनि राज्यले सहिद घोषणा गरिसकेकाले समान रुपले सुरक्षित आवास कार्यक्रम सन्चालन गरिने बताउनुभयो । उहाँले अहिलेको राजनैतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने सहिद, बेपत्ता र तिनका परिवारको सम्मानका लागि यो कार्यक्रम सन्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गत वर्ष सुनिलस्मृति गाउँपालिकाले सुरु गरेको फुसको छानो हटाउने अभियानमा साथ दिन ५० लाख र गंगादेव गाउँपालिकामा ५० लाख विनियोजन गरिएको छ ।’



निर्वाचनका बेला पाँच वर्ष भित्र रोल्पाका सबै फुसको छानो टिनको छानोमा परिणत गर्ने प्रतिबद्धता अनुसार सांसद सुरक्षित आवास कार्यक्रम अन्तर्गत पहिलो चरणमा करिव चार सहिद तथा बेपत्ता परिवारको फुसको छानो हटाउन जस्तापाता वितरण गरिएको छ ।
जेलबाङका सहिद भुवन बुढाका बुवा मंगले बुढाको घर निमार्णबाट शुरु भएको सुरक्षित आवास कार्यक्रम समृद्ध रोल्पा फाउण्डेशन मार्फत सन्चालन भइरहेको छ । सांसद सुरक्षित आवास कार्यक्रम अन्तर्गत सबै घरपरिवारको फुसको छानो हटाउने लक्ष्य रहेको फाउण्डेशनका अध्यक्ष तथा पूर्व सभामुख सांसद ओनसरी घर्तीले बताउनुभयो । उहाँले सुरक्षित आवास कार्यक्रमका लागि बलेफी हाइड्रो पावरबाट ५० लाख र नारायणी स्टीलबाट ५० लाख बराबारको जस्तापाता सहयोग रहेको जानकारी दिनुभयो ।
जस्तापाता वितरण कार्यक्रममा पाँच नंं प्रदेश सांसद दीपेन्द्र पुन, जिल्ला समन्वय समिति, रोल्पाका प्रमुख राजबहादुर बुढा, रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
।








प्रतिकृया दिनुहोस