पूर्व मन्त्री घर्तीद्धारा १५ लाख बराबरको जग्गा दान
माघ, २७ रोल्पा । पूर्व मन्त्री बालाराम घर्तीमगरले नेपाल रेडक्रस सोसाइटी उपशाखा सुलिचौरलाई जग्गा दान गर्नुभएको छ । मिझिङ–७ सुलिचौर बजारमा रहेको घर्तीको नाममा रहेको कित्ता नं. ५५० को ६० वर्ग मिटर क्षेत्रफल रहेको जग्गा उपशाखा सुलिचौरलाई प्रदान गर्नुभएको हो । जग्गादाता घर्तीलाई रेडक्रस सुलिचौरले बिहिवार सुलिचौरमा सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । नेपाल रेडक्रस सुलिचौर उपशाखाको नाममा जग्गा दान गर्नुहुने मिझिङ–५ निवासी समाजसेवी, राजनीतिज्ञ एवम् पूर्व मन्त्री घर्तीलाई नेपाल रेडक्रस सोसाइटी सुलिचौर उपशाखाले सम्मान पत्र प्रदान गरी सम्मान गरेको छ । उक्त जग्गाको अहिलेको मूल्य करिब १५ लाख रहेको छ ।
उक्त जग्गामा नेपाल रेडक्रस सोसाइटी अन्तर्गत सञ्चालित सामुदायिक स्वास्थ्य कार्यक्रम खानेपानी सरसफाई तथा स्वच्छता परियोजना अन्तरगत ६ कोठे आधुनिक अपाङ्गमैत्री शौचालय निर्माण गरिने उपशाखा सुलिचौरका सभापति गञ्ज क्षेत्रीले बताउनुभयो । कार्यक्रममा जग्गादाता पूर्व मन्त्री घर्तीले नेपाल रेडक्रस सोसाईटी उपशाखाले आफुलाई गरेको सम्मानको प्रसंशा गर्दै आगामी दिनमा पनि आफ्नो बाँकी जीवन समाज सेवामै विताउने बताउनुभयो । रेडक्रस उपशाखा सुलिचौरले गरेको क्रियाकलापबाट आफू हर्षित भएको समेत बताउनुभयो । कार्यक्रममा रेडक्रस सुलिचौरका सभापति क्षेत्रीले जग्गा दान गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि उहाँको सहयोगको आवश्यकता अपरिहार्य रहने धारणा राख्नुभयो । साथै उपशाखा सुलिचौरले निकट भविष्यमै एम्बुलेन्स ल्याउने प्रयास गरिरहेकाले उक्त कार्यमा पनि सबै व्यक्ति तथा क्षेत्रबाट यसरी नै सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा राप्रपा रोल्पाका अध्यक्ष अमरबहादुर थापा, नेपाली काँग्रेसका निवर्तमान क्षेत्रीय सभापति दुर्गा खड्का, नेकपा एमालेका प्रतिनिधि खिम चन्द्र पुन, राप्रपाका क्षेत्रीय अध्यक्ष तुकमान बिस्ट, जनमोर्चाका मिझिङ गाविस अध्यक्ष बिर बहादुर रोका, पत्रकार महासंघ रोल्पाका केन्द्रीय सभासद् दाना केसी, इप्रका सुलिचौरका प्रहरी नायव निरीक्षक मिलन श्रेष्ठ, सुर्योदय माविका बिद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष फत्ते प्रचण्ड घर्तीमगर, जनएकता सहकारीका अध्यक्ष कर्ण बहादुर गिरी लगायतको आतिथ्यता रहेको थियो । सम्मान कार्यक्रमको स्वागत मन्तव्य उपशाखाका उपसभापति मनिराम बुढाथोकीले राख्नुभएको थियो भने सञ्चालन सचिव जिबराज घर्तीमगरले गर्नु भएको थियो ।





प्रतिकृया दिनुहोस