रोल्पा नगरपालिकाको तेस्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाई खुमेलमा सम्पन्न

रोल्पा नगरपालिकाको तेस्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाई खुमेलमा सम्पन्न

रोल्पा, साउन २९ गते ।
रोल्पा नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार रोल्पा नगरपालिका–३ खुमेलमा सम्पन्न भएको छ।

कार्यक्रममा वडा नं. ३ का स्थानीयवासी प्रश्नकर्ताका रूपमा उपस्थित भएका थिए। स्थानीयले नगरपालिकाबाट भएका कामकारबाही, बजेट खर्च र आगामी योजनाका विषयमा जिज्ञासा राखेका थिए।

सार्वजनिक सुनुवाईमा प्रमुख उत्तरदाताका रूपमा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्ती, उपप्रमुख गीता आचार्य र प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे सहभागी हुनुहुन्थ्यो। उहाँहरूसँगै नगरपालिकाका विभिन्न विषयगत शाखाका शाखा प्रमुखहरूले पनि उठेका प्रश्नको जवाफ दिनुभएको थियो।

कार्यक्रमका लागि सहजकर्ताको भूमिका नेपाल पत्रकार महासंघ रोल्पाका सचिव तिलक घर्तीले निर्वाह गर्नुभएको थियो। सार्वजनिक सुनुवाई अगाडि उहाँले नगरपालिकाका विभिन्न वडा तथा टोल बस्तीमा पुगेर स्रोता सर्वेक्षण गर्नुभएको थियो।

सार्वजनिक सुनुवाईमार्फत जनप्रतिनिधि र कर्मचारीप्रति जवाफदेही बनाउने तथा पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्य राखिएको नगर प्रमुख थापा घर्तीले बताउनुभयो।

कार्यक्रममा उठेका सुझाव र गुनासोलाई आगामी नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता नगरपालिकाले जनाएको छ।

प्रतिकृया दिनुहोस