त्रिपुरेश्वरी माविमा कक्षा ११ र १२ सन्चालनार्थ रोल्पाको खुंग्रीमा महायज्ञ शुरु
४० लाख दान संकलन गर्ने लक्ष्य, महायज्ञ कार्तिक २ गतेसम्म चल्ने
खुंग्री, रोल्पा । त्रिपुरेश्वरी माध्यमिक विद्यालय, सुलिनस्मृति–२, खुंग्री, रोल्पाले सन्चालन गरेको श्रीमद्भागवत ज्ञान महायज्ञ २०७६ आइतबारदेखि शुरु भएको छ । असोज २६ गतेदेखि कार्तिक २ गतेसम्म सन्चालन हुने सप्ताहको प्रदेश नंं ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्नुभयो । श्रीमद् बालव्यास शान्तिदूत पण्डित कोमल उपाध्यायको मूल वाचकत्व तथा राष्ट्रिय कलाकारहरुको दैनिक भजनकृतन, झाक्ी प्रदर्शन हुने सप्ताहको समापन भने कार्तिक ३ गते गरिने आयोजकले बताएको छ ।
महायज्ञको उद्घाटनपूर्व विन्नि क्षेत्रका व्यक्तित्वहरु, विद्यालय व्यवस्थापन समिति, आमासमूह, स्थानीयवासीहरुको सहभागितामा चतुर्भुज मन्दिर परिक्रम सहित कलशयात्रा गरिएको थियो ।
विद्यालयकी प्रधानाध्यापक समीक्षा बुढाथोकीले विद्यालयले कक्षा ११ र १२ सन्चालनार्थ गरेको सप्ताहले विद्यालयमा गुणस्तरीय शिक्षा, विद्यालयको भौतिक सुधारको अपेक्षा राखेको बताउनुभयो ।
४० लाख दान संकलन गर्ने लक्ष्य रहेको महायज्ञमा करिब १२ लाख खर्च हुने अनुमान गरिएको छ । हालसम्म करिब रु. १० लाख बराबारको कलश वितरण गरिसकिएको महायज्ञ आयोजक समितिका संयोजक रामलाल भारतीले जानकारी दिनुभयो । उहाँले महायज्ञमा तुला दान, कलश वितरण, भूमिदान, नगद दान, १०८ कन्या पुजा, १ करोड दीप प्रज्वलन लगायतका कार्यक्रमहरु रहेको बताउनुभयो । आयोजकका अनुसार महायज्ञमा दानी महानुभावहरुलाई सम्मानको व्यवस्था गरिएको छ । जस अनुसार ३१ हजार भन्दा माथि ५० हजार भन्दा कम दान गर्नेलाई दानीको सिंगल फोटो विद्यालय भवन भित्र राखिने, ५० हजार भन्दा बढी दानीहरुको दम्पत्तीको फोटो राखिने तथा महायज्ञमा सम्मानको व्यवस्था गरिएको छ ।
उद्घाटन कार्यक्रममा पूर्व राज्यमन्त्री, सुरेन्द्र हमाल, पूर्व सांसद लेखनाथ आचार्य, लुङ्ग्री गाउँपालिकाका अध्यक्ष दुर्गावहादुर खड्का, स्वर्गद्वारी नगरपालिका, प्यूठानका नगर उपप्रमुख गोमादेवी रेग्मी, सुनिलस्मृति गाउँपालिकाकी उपाध्यक्ष बाग्मती क्षेत्रीनी, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा), रोल्पाका प्रतिनिधि शान्तराम शाह, नेपाली कांग्रेस, रोल्पाका का.वा. सभापति किशोर आचार्य, राष्ट्रिय जनमोर्चा, रोल्पाका प्रतिनिधि आकाश गिरी, समाजसेवी कृष्ण बहादुर घर्ती मगर, सुनिलस्मृति गापा–२, वडा अध्यक्ष नेत्र गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लाका राजनैतिक दल, जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी क्षेत्रका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
महायज्ञ सन्चालन मूल आयोजक समितिका संयोजक रामलाल भारतीको अध्यक्षता, विद्यालयकी प्रधानाध्यापक समीक्षा बुढाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन शिक्षक झक्कु घर्तीले गर्नुभएको थियो ।








प्रतिकृया दिनुहोस