कोटगाउँमा बृहत शैक्षिक महोत्सव तथा पढाई मेला
दक्ष र सबल जनशक्ति उत्पादन गर्ने शैक्षिक प्रणालीले देशलाई सबृद्ध दिशामा अगाडि बढाउन सक्छ : मन्त्री केसी
रोल्पा । बृहत शैक्षिक महोत्सव तथा पढाई मेला आइतबारदेखि नेपाल मावि कोटगाउँमा शुरु भएको छ । १० गतेसम्मसम्म सन्चालन हुने मेलाको आइतबार प्रदेश नंं ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसीले उद्घाटन गर्नुभयो ।
रोल्पा नगरपालिका वडा नंं ६ कोटगाउँले आयोजनामा गरेको पढाई मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री केसीले दक्ष र सबल जनशक्ति उत्पादन गर्ने शैक्षिक प्रणालीले देशलाई सबृद्ध दिशामा अगाडि बढाउन सकिने धारणा राख्नुभयो । शैक्षिक सुधार शिक्षक, अभिभावक, विद्यालय प्रशासन सबैको प्रयासबाट मात्र सम्भव भएकोमा जोड दिँदै उहाँले शिक्षाले जीवनस्तर माथि उठाउने भएकाले शैक्षिक सुधार पहिलो आवश्यकता औंल्याउनुभयो । ‘शिक्षा मानवीय विकासको पहिलो आधार भएकाले शिक्षामा सुधार पहिलो प्राथमिकता हो’ मन्त्री केसीले भन्नुभयो, ‘वैज्ञानिक खोज, अनुसन्धान गर्न सक्ने दक्ष जनशक्तिको विकास हुन जरुरी छ ।’
कार्यक्रमका विशिष्ट अतिथि प्रदेश नंं ५ का सांसद दीपेन्द्र पुनले वैज्ञानिक, प्रविधिमैत्री शिक्षाले मात्रै शिक्षक, अभिभावक र विद्यार्थीको अपेक्षा, देशको आवश्यकतालाई पुरा गर्न सम्भव हुने बताउँदै त्यसका लागि विद्यालयको शैक्षिक गुणस्तर, उपलब्धी हासिल गर्न सबै सरोकारवाला लाग्नुपर्ने बताउनुभयो ।
‘गुणस्तरीय शिक्षाका लागि हाम्रो भूमिका’ विषयमा शैक्षिक बहस समेत सन्चालन गरिएको छ । कार्यक्रमका वक्ताहरुले विद्यालयको शिक्षक, कर्मचारीको दरबन्दी पूर्ति गर्नुपर्ने, शैक्षिक सुधारका लागि स्थानीय तहको बजेट, नीति, कार्यक्रममा शिक्षक, अभिभावक लगायत सबैको सहकार्यमा जोड दिएका छन् । वडा अध्यक्ष एवम नेपाल मावि कोटगाउँका विव्यस अध्यक्ष तुलबहादुर घर्ती, नगर शिक्षा अधिकारी महेन्द्र पराजुली, प्रधानाध्यापक कृष्णबहादुर पुन लगायतको सहभागितामा भएको बहसको सहजीकरण पत्रकार मानसिंह विकले गर्नुभएको थियो ।
कार्यक्रममा जिसस, रोल्पाका कार्यवाहक प्रमुख कर्मलाल परियार, रोल्पा नगर प्रमुख पूर्ण केसी, उपप्रमुख मनकुमारी घर्ती, प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुन थापा, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा), रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्ती लगायत विद्यालय व्यवस्थापन समिति, शिक्षक विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
नेपाल मा.वि. कोटगाउँका शिक्षक कृष्ण बहादुर पुनको स्वाग्त मन्तव्य, वडा नंं ६ का वडा अध्यक्ष तुलबहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन नेपाल मावि, कोटगाउँका शिक्षक दामोदर विकले गर्नुभएको थियो ।








प्रतिकृया दिनुहोस