यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ः५५ बजे

काठमाडौं । यस वर्षको भाइटिकाको उत्तम साइत कात्तिक १२ गते मंगलबार बिहान ११ः५५ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटिकाको शुभ साइत सार्वजनिक गरेको हो ।

समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार कात्तिक १२ गते मंगलबार दिनभर टिका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित मुहुर्तको शुभ साइत दिइएको बताउनुभयो ।

यसवर्ष यमपञ्चक कात्तिक ८ गते शुक्रबारदेखि सुरु भएको हो । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । कात्तिक ९ गते शनिबार काग तिहार, यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको हो । बिहान ११ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताउनुभयो ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन छ । ११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि पर्दछ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

कात्तिक १२ गते भाइटिकाकै दिन यस वर्ष नेपाल सम्वत अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय बचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले बताउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४० सुरु हुन्छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।

प्राडा रामचन्द्र गौतमसंग गरिएको कुराकानीको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस