नेपाल क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो ।
क्रिकेट संघको निलम्बन भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गर्नुभएको थियो । उहाँले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाउनुभएको थियो । ‘कप्तानमा फर्किन हामीले गरेको आग्रह पारसले अस्वीकार गरेपछि उहाँको राजीनामा स्वीकृत गरेका छौं र, अर्को व्यवस्था नभएसम्मका लागि ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी दिएका छौं’ क्रिकेट संघका एक पदाधिकारीले भने ।
पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए । पारसको अनुपस्थितिमा उहाँले नै कप्तानीको भूमिका निभाउनुभएको थियो ।
यस्तै दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । हालै सिंगापुर र ओमान टुरमा ज्ञानेन्द्रलाई आराम दिँदा ऐरी उपकप्तानको भूमिकामा हुनुहुन्थ्यो ।
यू-१९ टिममा कप्तान रहिसक्नुभएका उहाँले फ्रेन्चाइज लिग टिमको पनि नेतृत्व गरिसक्नुभएको छ ।
क्रिकेट संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तानबारे जानकारी गराएको छ ।








प्रतिकृया दिनुहोस