रोल्पाली कमेडियन खबपु कमेडी च्याम्पियनको फाइनलमा
खड्ग बहादुर पुन जिताऔं अभियानले तीब्रता पाउँदै
१४ फागुन । अर्गानिक कमेडियनको पहिचान बनाउन सफल रोल्पाली कमेडियन खड्ग बहदुर पुन मगर कमेडी च्याम्पियनको फाइनलमा पुग्न सफल भएका छन् । रोल्पा जेलबाङका २९ वर्षीय पुन नेपालकै पहिलो मौलिक हाँस्यव्यङ्ग्य रियालिटी शो कमेडी च्याम्पियनको उत्कृष्ट ३ फाइनलमा प्रवेश गरेका हुन ।
उनी फिजिकल अडिसन पास गरे पनि उत्कृष्ट २४ बाट बाहिरिए । तर वाइल्ड कार्ड इन्ट्री मार्फत शुभचिन्तकहरुको सर्वाधिक भोट प्राप्त गरी सिधै उत्कृष्ट सातमा प्रवेश गर्न सफल भएका थिए । त्यस यता स्ट्याण्ड अप कमेडीमा उत्कृष्ट प्रस्तुति दिँदै एक पटक पफरमर अफ डे प्राप्त गरेका थिए ।
गत मंगलबार कमेडी च्याम्पियनमा फाइनल प्रतिपस्पर्धी घोषणा भएसंगै भोटिङ समेत खुला गरिएको छ । पुनलाई नेपाल भित्रबाट इसेवाबाट वा नजिकैको इसेवा पोइन्टमा गई खड्ग बहादुर पुन मगरलाई कमेडी च्याम्पियनमा धेरै भन्दा धेरै भोट गन सकिनेछ । नेपाल बाहिर विदेशबाट प्ले स्टोरबाट कमेडी च्याम्पियनको एप डाउनलोड गरी प्रत्येक दिन एउटा इमेल आइडीबाट २४ घण्टाको अन्तरमा ५÷५ भोटका दरले हरेक दिन निःशुल्क भोट गर्न सकिनेछ । भोटिङ २०७६ फागुन १३ गते मंगलबार राति १० बजेदेखि चैत्र १ गते मध्यान्ह १२ः०० बजेसम् अर्थात २५ फेब्रुरँी देखि १४ मार्चसम्म खुला रहने आयोजकले जनाएको छ ।
उनी फाइनलमा पुगेसंगै कमेडी च्याम्पियनको विजेता बनाउन विभिन्न अभियानहरु सन्चालन भइरहेका छन् । उनी आफै गृह जिल्ला रोल्पा लगायत छिमेकी जिल्लाहरु प्यूठान, रुकुम, दाङ, पाल्पा, बुटवल, पोखरा र काठमाडौ लगायत विभिन्न मुख्य शहरहरुमा पुगेर दर्शक शुभचिन्तकहरुमाझ भेटघाट र भोट अपिल गर्ने भएका छन् । देश तथा विदेशबाट प्रत्यक्ष रुपमा वा सम्पर्क गरी सहयोग समेत गर्न सकिनेछ ।
जस अनुसार फागुन १४ गते दाङको घोराही र तुल्सीपुर, १५ गते रोल्पाको माडी गाउँपालिका घतीँगाउँ, १६ गते लिबाङ र सुलिचौर बजार, १७ गते रुकुम मुसिकोट, खलंगा, १९ गते आफ्नै गाउँमा, २० गते सुनछहरी गाउँपालिका, २१ ग्ते प्यूठान, २२ गते बुटवल, २३ गते पाल्पा, २४ गते पोखरा र त्यस पछि काठमाडौमा खड्ग बहादुर पुन जिताऔं अभियान सन्चालन हुने भएका छन् । गृह जिल्ला र काठमाडौंमा खड्ग बहादुर पुन जिताऔं अभियान सन्चालन भइरहेका छन् ।
खड्ग बहादुर पुन मगरको जीवनी ः
कमेडी च्याम्पियनका खडग बहादुर पुनको जन्म रोल्पा जिल्ला सुनछहरी गाउँपालिका ७, जेल्बाङ खिबाङमा आमा खिन्ताश्री पुनको कोखबाट २०४७ साल माघ ४ गते भएको हो ।
एकवर्ष नपुग्दै बाबा सौतेनी आमा लिएर कालापार हिँडेपछि आमा एकलै भईन । आम खिन्ताश्री पुन मगरले छोरा खड्ग बहादुर पुनको मुख हेरेर एकलै गोठमा धेरै वर्षहरु विताइन । आमाले उनलाई काखीमा च्यापेर भेडी गोठमा कैयौ रातहरु एक्लै गुजारिन ।
जन्मदिने आमाको सहारामा उनले गाउँ नजिकै रहेको राष्ट्रिय प्रावि ल्याबाङमा ३ कक्षासम्म अध्ययन गरे, ४ कक्षा देखि ७ सम्म रोलबाङ माविमा अध्यन गरे । विद्यालय पुग्न घरदेखि २ घण्टा लाग्थ्यो । ७ कक्षा पास गरेपछि सुलिचौर झरे ।
सुलिचौरको बसाई आफ्नै खुट्टामा उभिनु थियो । त्यहाँ उनले मुस्किलले साहुको घरमा काम पाए । सुलिचौरको बसाई आफ्नै खुट्टामा उभिनु थियो । त्यहाँ उनले मुस्किलले साहुको घरमा काम पाएर, कामगर्दै पढे । धागो, भांग्रो खरिद बिक्रि गर्ने एकजना उवाका टेक बहादुर साहु थिए, त्यसैगरी घुस्बाङ्गे लाहुरे र जलजला गेष्ट हाउसमा समेत काम गरे । नले खोलाको बगरमा ३०/४० वटा बंगुर हेर्नु पर्थ्यो । बिहान होटेल-होटेलमा पुगेर रक्सि पारेको फाँदे र बचेको खाना जुठो-पुरो जम्मागरेर सुँगुरलाई चारो जुटाइ दिन्थे र मिझिङको उकालो लाग्थे । मिझिङमा रहेको स्कुल पुग्न एक घण्टा लाग्थ्यो ।
अहिले घरमा एउटा भाई छन्, दुई बहिनीहरु छन्, उनीहरु सबै गाउँमै पढ्दै छन् । खबपुले उनीहरुको पनि रेखदेख गरिरहेका छन् । बाबाआमा पनि सँगै छन ।
आफ्नै उचाइले धोका दिएपछी
आफ्ना साथीभाईहरु लाहुरे हुन लाम लागेपछि उनि पनि लहलहैमा लाउरे हुन् नेपालगंज पुगे । इण्डियन लाहुरे हुन ५.२ फिट उचाइ हुनुपर्छ भन्ने कुरा खबपूलाई थाहा थिएन । उनलाई नेपालगंजबाटै उचाइ नपुगेको भन्दै गल्लाले फर्काइ दियो, त्यस्पछी उनी जिल्लिएर फर्किए ।
उनको होचो र सानो कद हुँदा हेपाई धेरै भोगे । सानो मान्छे भनेर उनलाई जागिर मिलेन । प्लस टु पढ्दा समेत उनले घरायसी कामबाहेक अन्य अफिसियल जागिर पाएनन ।
जागिरका लागि सबै प्रक्रियामा पास भएर पनि अन्तिममा आफु होचो हुनुको कारण जागिर नपाएको तितो अनुभव छ उनीसंग । गरिबी निवारण संस्थामा सामाजिक परिचालकको जागिर खुलेको थियो । त्यहाँ जागिरका लागि शैक्षिक योग्यता देखी अन्तर्वार्तामा समेत पास गरे, तर अन्तिममा यो मान्छे सानो छ, फिल्डमा काम गर्न सक्दैन भनेर फर्काइदिए । उमेरको हदबन्दीले नभई शरीरको वनावटका कारण उनले जब पाएनन ।
पछि उनले जिविससंग जोडिएर करिब एकबर्ष काम गरे तर कलाकारिताकै कारण जबबाट हातधुन पुगे । खासगरी सानै देखि कलाकारिता तिर उनको रुचि थियो । उनले ऋणधाम गरेर लिबाङबजारमै ‘सम्झौता पुस्तक तथा संगीत घर’ संचालनमा ल्याए ।
पत्रमित्रताले जोडेको बैबाहिक जीवन
पत्रमित्रताको समय हराएको धेरै भएको छैन । पढ्ने बेलामा पत्रमित्रताको लहर चलेको थियो । त्यतिबेला उन्को हातमा मोबाइल पनि थिएन । प्युठानमा एउटा कमर्सियल एफएम ‘रेडियो माण्डपी’ भन्ने खुलेको थियो । माण्डवी एफएमबाट एउटा ‘हेलो साथी’ कार्यक्रम प्रसारण हुन्थ्यो । उक्त कार्यक्रममा प्युठान संगैका छिमेकी जिल्ला, अर्घाखाँची, दाङ्ग, रोल्पा प्युठानका युवा युवतीहरुले हेलो साथीमा पत्र पठाउथे ।
त्यतिबेला पत्रमित्रतामा खडग बहादुरलाई खासै चासो थिएन । उनको बच्चै देखिको साथि बिष्णु सन्यासीले (उन्ले कबिता, गित, गजलहरु लेख्छन), हेलो साथी कार्यक्रमबाट ५ जना केटी साथीहरुको नाम टिपेर ल्याए छन् । त्यस मध्यबाट दुई जनाको नाम खडकलाई दिए र ३ जनाको नाममा सन्यासीले पत्र पठाए ।
बिष्णु सन्यासीको हात्ते लेखन अक्षर त्यति राम्रो थिएन । खडक बहादुरको लेखन राम्रो थियो । सन्यासीको शब्द छनौट र शैली सारै राम्रो थियो, साहित्यिक र भावमय थियो । यसरि शैली मिलाएर लेख्न खडगलाइ उति सारो आउदैनथ्यो । त्यसैले पत्र लेखनको निर्देशन सन्यासीले गर्थे र खडकले ह्याण्ड राईटिङ्ग गरेर, पाँच वटा पत्र तयारि पारि एकैसाथ पठाएका थिए ।
जसमध्यबाट खडग बहादुर पुनलाई अर्घाखाँची गोखुङ्गा, सेपानी गाउँकी दिल्माया पुनको रिप्लाई आयो । त्यसपछि उनीहरु बीच पत्रमित्रताले निरन्तरता पायो ।
प्युठानको बिजुवारमा एउटा महोत्सव हुने भएपछी दिपाले निमन्त्रणा गरिन । त्यतिखेर दिल्मायाले महोत्सबमा लोकदोहोरी प्रतियोगितामा भाग लिएकी थिइन् । खडग र दिल्मायाको पहिलो पटक भेट त्यही भयो । खबपु चंचलको नजरमा दिल्माया पुन निकै सुन्दरी लागिन । सायद खडग पनि दिल्मायाको नजरमा परे ।
त्यसरी उनीहरुको पत्रमित्रताको साइनोलाई बिकसित प्रबिधीले अझै नजिक बनाउदै गयो । फोन, फेसबुक, भाइबरमा उनीहरुको मित्रता झाङ्गिदै गयो । ७२ सालको बैशाख १२ गते देशमा महा भुकुम्प गयो । भुकम्प गएको ५ दिन पछि १७ गते खडग र दिलमाया बैबाहिक जीबनमा बाँधिए ।
काठमाडैा शहरले कोरेको रोधीघरको कथा
खासमा उनि स्थानीय चुनाव ताका काठमान्डौ टेके । काठमान्डौ टेक्दाको गते ठ्याकै थाहा छ, त्यो हो ‘२०७४ साल जेष्ट १’। मान्छेले मान्छे नचिन्ने यो शहरमा पसेपछि खबपूलाई नन्द सरले चिने, उनकै सहयोगमा रेाधी घरको यात्रा तय भयो, किनकी काठमान्डौमा बाँच्नु थियो । सुरुमा उनले नागार्जुन दोहोरि सांझमा मासिक ६ हजार तलबमा कमेडी डान्सरको रुपमा काम पाए ।
काठमान्डौको महंङ्गीमा उनलाई त्यो ६ हजार तलब प्रयाप्त हुने कुरै भएन । त्यसपछी नागार्जुनलाई छोडेर काठमान्डौ रोधीघर पुगे । त्यहाँ उनले ८ हजार मासिक तलब पाए । घरमा छोडेकी श्रीमती र छोरीलाई काठमान्डौ ल्याउने सपना अझै अधुरो रह्यो । त्यस्पछी दोहोरी चाहार्दै जाँदा बसपार्कमा रहेको निलकमल दोहोरि साँझमा पुगे, त्यहाँ उनले १० हजर तलव पाए ।
दोहोरि साँझमा धाउन थालेपछि खबपूले धेरै कुरा सिक्ने अबसर पाए । उनको कला चौतर्फी बढ्न थाल्यो । आफ्नो सिपक्षमताले पाउनु पर्ने पारिश्रमिक नपाएपछि उनले आर्को दोहोरि घर तिर लागे ‘सुन्धारा दोहोरि सांझ’। त्यहाँ उनले मासिक १३ हजार तलब पाए ।
सुन्धारा जान समय अपुग हुने भएपछी पुन: बसपार्कमा रहेको राजधानी दोहोरि साँझमा आए । अहिले १४ हजारमा राजधानी दोहोरि सांझमा काम गरिरहेका छन् । उनको साथमा श्रीमती दिपा पुन र छोरी पनि छिन ।
खबपुलाई श्रमको उचित मुल्य पाए पुग्छ । काममा ठुलो सानो भनेर भेद्भाब राख्दैनन । सधैं हस्यौली पाराका खबपुले कामको हैसियतलाई कहिलै मापन गरेनन, ठुलो होस् कि सानो काम गर्न कहिलै लजाएनन ।
आफु कमेडियन भएको पत्तै भएन
एचआइभीएड्स बिरुद्द रेडक्रसको जनचेतना कार्यक्रम सडक नाटकमा खेल्थे । सडक नाटकमा उनलाई फन्नी क्यारेक्टरको भूमिका मिल्यो । जतिबेला नाटकको डाइलगमा उनको बोली सुन्दा सडकमा जम्मा भएका मानिसहरु हाँस्थे ।
पहिलो पटक उनले आफ्नै गाउँको क्लबमा कमेडी प्रस्तुत गरेका थिए । हरेक प्रस्तुतीमा हाँस्से बिधा उन्कै भागमा पर्थ्यो । काठमान्डौ छिरेपछि दोहोरिमा पनि कमेडी डान्सरको रुपमा जिम्मा पाए । यसरी दोहोरी घरमा पाहुनालाई हसाउथे ।
खडगको एक जना रेउघाका साथि बल प्रसाद पुनले कमेडी च्याम्पिएनको लिंक फेसबुकमा पठाई दिए । नेपालमा पहिलो पटक कमेडी च्याम्पिएन आएको छ, यसमा तपाईले पनि भाग लिनुस, भने । तर पनि उनि सहभागी हुने या नहुने भन्ने दोधारमा थिए । साथीले उनलाई जानैपर्छ भनि दबाव दिए ।
त्यसपछि उनले कमेडी च्याम्पिएनको एप मोबाइलमा डाउनलोड गरेर, अनलाइनमा फर्म भरे । आयोजकको उनलाई कल गरेर भिडियो पठाउन भन्यो । भिडियो पठाई दिए । उक्त भिडियोमा उनी छनैा भए र फिजिकल अडिसनका लागि निमन्त्रणा आयो । उनले आफ्नै पहिचान बोकेको मगर पहिरन सहित बुटवल अडिसनमा पुगे । अडिसन पनि दिए । १ सय ५ जनाबाट जम्मा २४ जना भित्र छनौट भए । टप २४ भित्र परेपनि उत्कृष्ट कमिडि के हो भन्ने बारे उनलाई केहि थाहा थिएन । उनि टप २४ बाटै आउट भए ।
तर सामाजिक संजालमा खबपूको अर्गानिक कमेडीको खोजि हुन थाल्यो । सामाजिक सन्जाल युटुब र फेसबुकतिर खबपु धेरै खोजिन थाले । त्यसपछि उनले वाइल कार्ड इन्ट्रीमा प्रवेश गर्नको लागि रोष्ट राउण्डमा फेरी अबसर पाए । उनले दिएको प्रस्तुति पछि आमदर्शकहरुले खबपूलाई अत्याधिक भोट दिएर वाइल कार्ड इन्ट्री मार्फत भोट पाएर उनि सिधै उत्कृष्ट ७ मा प्रवेश गरे ।
उनी उत्कृष्ट ५ भित्र परेपछि ‘जनयुद्दको स्मरण’ बिषयमा कमेडी प्रस्तुत गरेका थिए, उक्त प्रस्तुतिबाट ‘उत्कृष्ट परफर्मर अफ दि डे’ पाएर निर्णयकहरुले उत्कृष्ट ४ भित्र छनौट गरे ।
यतिखेर दुर्गम गाउँको ठिटो खडग बहादुर पुन उर्फ ‘खबपु चन्चल’ले राजधानीमा चलिरहेको कमेडी च्याम्पियनमा तहल्का मच्चाई रहेका छन् । उन्को बिगत बिर्साउन कमेडी च्याम्पियनमा सफलता मिल्दै जाओस शुभकामना ।
पछिल्लो समय उनलाई म्युजिक भिडियो, सर्ट मुभी र कल्चर डान्सरको टिचरको रुपमा काम गर्दै आएका थिए । उनले केहि म्युजिक भिडियोमा कल्चर डान्सरको निर्देशन समेत गरेका छन् ।
निर्देशकको भूमिका निर्बाह गरेका खड्कले काम नपाउदा साहयक डान्सरको रुपमा पनि नाचे । मोडेल तथा निर्देशक भएकाहरु सहायक रोल खेल्न हिचकिचाउछन, हैसियतको मापन गर्छन तर खडक बहादुरलाई कहिलै त्यस्तो अनुभव भएन ।
यस्तै मेहनतको फल हो, देशकै सर्बाधिक चर्चाको शिखरमा लम्किरहेको कमेडियन च्याम्पिएनको फाइनल यात्रा । अब उनी विजेता बन्ने यात्रा्मा छन । तर त्यस्को लागि दर्शकहरुको भोटको खाँचो छ ।
पोष्टपाटीको सहयोगमा








प्रतिकृया दिनुहोस