संगमको तीज कोशेली ‘नाचम बरिलै’ सार्वजनिक
राेल्पा, साउन १६ । हरितालिका तीजको अवसरमा महिलाको भावनात्मक पीडा, माइतीप्रतिको आत्मीयता र मौलिक नेपाली संस्कृति झल्काउने तीज गीत ‘नाचम बरिलै’ सार्वजनिक गरिएको छ। सर्जक तथा गीतकार प्रेम संगमको शब्द रचना रहेको यस गीतलाई शुक्रबार प्रतिक्षा सिजापती युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा राजकुमार बगरले लय सिर्जना गरेका छन् भने रमेश सेन्चुरीले संगीत संयोजन गरेका छन्। रचना रिमालको स्वरले गीतलाई भावुक र सशक्त बनाएको छ ।
पछिल्ला तीज गीतहरूमा भड्किलोपन हाबी भएको बेला ‘नाचम बरिलै’ले मौलिकता, सांस्कृतिक चेतना र चेलीको वास्तविक अनुभूति उजागर गरेको बताइएको छ । गीतले नेपाली समाजमा महिलाहरूले भोग्नुपरेको जीवनसंघर्ष र तीजको सामाजिक–सांस्कृतिक महत्त्वलाई कलात्मक ढंगले चित्रण गरेको छ ।
भिडियोमा वरिष्ठ कलाकार प्रेमदेव गिरी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष हरिमाया कार्की, नव–नायक लक्ष्मण लामिछाने तथा चर्चित मोडल लक्ष्मी गिरीको सशक्त अभिनय र प्रस्तुति देख्न सकिन्छ । लक्ष्मी गिरीले गीतमा आकर्षक नृत्य प्रस्तुत गरेकी छन्।
गीतको निर्देशन चन्द्र ब. मन्दिरले गरेका हुन्, उनि लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतका अध्यक्ष समेत हुन् । छायांकन, सम्पादन तथा रंग संयोजन निर्मल प्याकुरेलले गरेका छन् । प्याकुरेलका अनुसार यो भिडियो कर्णाली प्रदेशमा यस वर्ष निर्माण भएको उत्कृष्ट सांगीतिक भिडियोहरूमध्ये एक हो ।
पोस्ट–प्रोडक्सन कसपा एण्ड कृतिका प्रोडक्सन तथा श्रीनाथ फिल्म्स सुर्खेतबाट गरिएको हो । यी ब्यानरहरूबाट अहिलेसम्म ३०० भन्दा बढी म्युजिक भिडियो सार्वजनिक भइसकेका छन्।
गीतकार संगमले ‘नाचम बरिलै’लाई तीज गीत मात्र नभई नेपाली चेलीको मनको आवाज र सांस्कृतिक दस्तावेजको रूपमा लिने अभिव्यक्ति गीत मार्फत दिएका छन् । यसअघि उनले ‘निदाउन सक्दिन’ र ‘तिमी त दुश्मन बनेर गयौ’ जस्ता चर्चित गीतहरू बजारमा ल्याइसकेका छन् ।








प्रतिकृया दिनुहोस