रोल्पा नगरपालिकाले १ सय जर्सी गाई वितरण गर्ने

नगरपालिकाका सबै वडामा घुम्ती बैठक गरिने

रोल्पा । रोल्पा नगरपालिकाले नगरभित्रका कृषकहरुलाई १ सय जर्सी गाई वितरण गर्ने भएको छ । नगरपालिका भित्रका अगुवा र ईमान्दार कृषकहरुको तथ्याङ्क संकलन गरेरे मागका आधारमा प्रति कृषक एक जर्सी गाई उपलब्ध गराइने, जसका लागि ५२ लाख रुपैंया विनियोजन गरिएको नगर प्रमुख पूर्ण केसीले जानकारी दिनुभयो ।
मंगलरबार रोल्पा नगर कार्यपालिकाका पदाधिकारीहरु र अगुवा कृषकहरुलाई पशु नश्ल सुधारका लागि गरिने कृत्रिम गर्भाधान सम्बन्धी जानकारीहरु दिइएको छ । जिल्लामा पशु नश्ल सुधारका लागि कृत्रिम गर्भाधानको ब्यवस्था हुँदा पनि कृषकहरु अन्यौलमा रहेका कारण यस प्रकारको कार्यक्रमको आयोजना गरिएको नगरपालिका अन्तर्गतको पशु शाखाकी दिलमायाँ बिष्टले जानकारी दिनुभयो ।

यस्तै नगरपालिकाले सबै वडामा पुगेर घुम्ती बैठक गर्ने भएको छ । मंगलबार नगर कार्यपालिकाको बैठकले नगरपालिकाका १० वटै वडाहरुमा पुगेर पालैपालो घुम्ती बैठक आयोजना गर्ने निर्णय गरेको हो ।  बैठकले सबै वडाको स्थलगत अनुगमन तथा निरीक्षण पनि हुने, वडाका समस्या, विकासको गति समेत थाहा हुने भएकाले यस प्रकारको घुम्ती बैठक आयोजना गर्न लागिएको  नगर प्रमुख पूर्ण केसीले बताउनुभयो ।  तिहार सकिएलगत्तै ठूला योजनाहरुको तीब्र गतिमा अगाडि बढाउन सबै शाखाका कर्मचारीहरुलाई निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुन थापाले जानकारी दिनुभयो । 

यसैवीच पोषण कार्यक्रम सन्चालनका लागि यस आर्थिक वर्ष रोल्पा नगरपालिकाको वडा नम्बर ५, जेदबाङलाई छनौट गरिएको छ । गत आर्थिक वर्षमा वडा नम्बर ६ कोटगाउँ र वडा नम्बर १ को हरिकाटीनामा यो पोषण कार्यक्रम सन्चालन भएको नगर प्रेस संयोजक देवी गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा भेटेरनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र, रोल्पाका प्रमुख सुदाम भट्टले कार्यक्रम बारे प्रस्तुतिकरण गर्नुभएको थियो । रोल्पा नगरपालिका पशु विकास शाखाकी मीना अधिकारीको सन्चालनमा भएको कार्यक्रममा शाखाकी दिलमायाँ बिष्टले स्वागतसहित कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।
नगर प्रमुख पूर्ण केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख मनकुमारी घर्ती, प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुन थापा, १० वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका पदाधिकारीहरु, विभिन्न समुहका कृषक समुहहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस