हुरेक नेपालद्वारा त्रिवेणी गाउँपालिकामा कम आयस्तर भएका लागि बङ्गुरका पाठापाठी वितरण
त्रिवेणी, रोल्पा, फागनु २९ । कम आयस्तर भएका स्थानीयवासीका लागि बङ्गुरका पाठापाठी वितरण गरिएको छ । त्रिवेणी गाउँपालिकाको समन्वय, सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतन केन्द्र, (हुरेक) नेपाल, रोल्पाले संचालन गर्दै आएको एकीकृत परियोजना अन्तरगत विभिन्न कारणले जोखिमका रहेका बालबालिकाहरुको परिवार तथा विपन्न परिवारलाई बंगुर वितरण गरिएको हुरेकले जनाएको छ ।
विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयहरुमा नियमित पढाउन, बालश्रममा परेका बालबालिकाहरुलाई बालश्रम मुक्त बनाउन, अति विपन्न परिवारको जीविकोपार्जनमा सुधार ल्याउन ती बंगुरका पाठापाठी वितरण गरिएको हो । त्रिवेणी गाउँपालिकाका सातै वडाहरुका १५ घरधुरीलाई ४५ वटा बंगुर वितरण गरिएको छ । निःशुल्क रुपमा वितरण गरिएका ती बंगुरको लागि खोर निर्माण तथा व्यवस्थापनका लागि हुरेकले रु ६÷६ हजार रकम समेत उपलब्ध गराएको छ । पशु स्वास्थ्य सुधारका लागि पशु प्राविधिकहरुले नियमित रुपमा सहजीकरण समेत गर्दै आएका छन् । विगत दुई वर्षदेखि त्रिवेणी गाउँपालिकामा हुरेक रोल्पाले बालबालिकाहरुको अधिकार संरक्षणका लागि शिक्षा, बाल संरक्षण र जीविकोपार्जन कार्यक्रम संचालन गर्दै आएको छ ।








प्रतिकृया दिनुहोस